वीरगञ्ज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा गम्भीर घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको सोमबार बिहान भएको दुर्घटनामा ज्यान गएको हो।
बिहान करिब साढे बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेर शरीरको भाग गम्भीर रूपमा जलेको थियो।
घटनालगत्तै बेहोस भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकको प्रयास सफल हुन नसकेको मृतकका बुबा मखु सहनीले बताएका छन्।
चाडपर्वको समयमा पटाका प्रयोगबाट भएको दुःखद घटनाले सीमावर्ती क्षेत्रमा पटाकाको अवैध आयात, बिक्रीवितरण र प्रयोग नियन्त्रणमा प्रहरी प्रशासनको भूमिकामाथि पुनः प्रश्न खडा गरेको छ।
खुला सीमाको फाइदा उठाउँदै भारतबाट पटाका भित्रिने र ग्रामीण बजार तथा बस्तीमा पटका सहजै बिक्री हुने गरेको छ ।
प्रहरीको नियमित गस्ती र निगरानी कति प्रभावकारी छ भन्ने विषयमा स्थानीयले चासो व्यक्त गर्न थालेका छन्।
विशेषगरी इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षेत्रभित्र पर्ने घटनास्थल आसपास पटाकाको उपलब्धता र प्रयोग नियन्त्रण गर्न प्रहरीबाट पर्याप्त निगरानी भएको थियो वा थिएन भन्ने विषय पनि छानबिनको दायरामा आउनुपर्ने माँग उठन थालेको छ।
पाँच वर्षीय बालकको ज्यान जाने गरी भएको घटनाले पटाका प्रयोगको जोखिम र त्यसको नियन्त्रणमा सरकारी निकायको जिम्मेवारीलाई पुनः उजागर गरेको छ।
अब प्रहरीले घटनामा प्रयोग भएको पटाका कहाँबाट ल्याइएको थियो, कसले उपलब्ध गराएको थियो र त्यसको बिक्रीवितरणमा संलग्न व्यक्ति वा समूह को थिए भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने माँग उठ्न थालेको छ ।
तपाईको प्रतिक्रिया