काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरलाई सुन्दर बनाउने प्रतिबद्धता यतिखेर महानगर प्रमुखका उम्मेदवारहरूबाट व्यक्त भइरहेका छन् । काठमाडौँलाई अत्याधुनिक सुविधा सम्पन्न सहर बनाउने हो वा मौलिक कला र संस्कृतिको बेजोड नमुनायुक्त यो ठाउँलाई ‘सांस्कृतिक सहर’को हैसियत दिने हो भन्नेमा उम्मेदवारै पिच्छे फरकफरक धारणा देखा परेका छन् । स्थानीय तह निर्वाचनमा उठेकाहरू लोभलाग्दा योजनाहरू अघि सारेर जसरी भए पनि महानगरवासीको मन जित्ने कोसिसमा छन् ।
काठमाडौँ विश्वकै यस्तो महानगर हो जहाँ विश्व सम्पदा सूचीमा सूचीकृत थुप्रै धार्मिक र सांस्कृतिक सम्पदाहरू अवस्थित छन् । स्वयम्भू, पशुपतिनाथ, बौद्धनाथ, हनुमानढोका दरबारक्षेत्र जस्ता सम्पदाहरूका कारण काठमाडौँ महानगर विश्वभरका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको छ ।
कुनै बेला यस महानगरका प्रमुखले स्वच्छ, सफा र हराभरा काठमाडौँको नारा दिएर काम गरेका थिए । त्यतिबेला महानगरका लागि अत्यावश्यक केही पूर्वाधार तयार पनि भए । यतिखेर मेट्रो रेल मोनो रेलदेखि वाइफाइ फ्री सिटीसम्मका योजनाहरूको चर्चा भइरहेको छ ।
नारा र आश्वासन जे जस्ता आए पनि पिउनेपानी, ढल, बिजुली जस्ता आधारभूत पूर्वाधारको अभाव र फोहर व्यवस्थापनको समस्याबाट धेरै समयअघिदेखि महानगरवासी आक्रान्त छन् । यिनै समस्यामा थपिएका छन् सडक विस्तार, त्यसका कारण भत्के भत्काइएका सडक र घरहरू, अनि ध्वनि र धुलोको डरलाग्दो प्रदूषण ।
सडक विस्तारले यहाँका स्थानीयवासीमाझ आतङ्क मच्चाएको छ । पीडितहरूले क्षतिपूर्ति पाइरहेका छैनन् । ठूल्ठूला अस्पताल सहरको मध्यभागमा अवस्थित छन् । जनसङ्ख्याको तुलनामा सडक साँघुरिएका छन् । संक्षिप्तमा भन्दा भूकम्पपछि काठमाडौँ महानगरवासीको जनजीवन अस्तव्यस्त र अन्योलपूर्ण भएको छ ।
यसैबीच केही उम्मेदवार कला, कौशल, जात्रा, पर्व, मठ, मन्दिर र विविध संस्कृतिले भरिपूर्ण यो महानगरको मौलिक स्वरुप बिगार्न नहुनेमा जोड दिइरहेका छन् भने केहीले अत्याधुनिक सुविधा र प्रविधि थप्दै लानुपर्नेमा जोड दिइरहेका छन् ।
यी समस्याहरूमाझ स्थानीय तहको मुद्दा के के हुन् त ? वडा नम्बर १३ को चुनावीसभामा वडाध्यक्ष पदका एक उम्मेदवारले मतदातासामु भने – मैले वडाध्यक्षमा जितें भने वडा कार्यालयलाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म खोल्छु र कार्यालय समयका अतिरिक्त कार्यालय खोलेर दिउँसो नभ्याउने नागरिकलाई सेवा दिन चाहन्छु ।
उनका अनुसार स्थानीय तह नियमावलीको मस्यौदामा वडालाई १२ कक्षासम्मको विद्यालयलाई अनुगमन गर्ने अधिकार दिइएको छ र स्वास्थ्य केन्द्र वा अस्पताललाई आफ्नो वडाभित्र राख्ने वा नराख्ने भन्नेसम्मको अधिकार स्थानीय तहलाई छ ।
धार्मिक स्थल, पाटीपौवाको संरक्षण, खुला स्थानको व्यवस्था, फोहर व्यवस्थापन जस्ता विषयका अतिरिक्त उनले कालीमाटीस्थित क्षयरोगको उपचार गर्ने एक अस्पताललाई सहर र बस्तीको मध्यभागबाट अन्यत्र सार्नैपर्ने र जितेको खण्डमा त्यो काम आफूले गर्ने अठोट पनि उनले सुनाए ।
महानगर नै हाँक्ने उम्मेदवारका नारा र आश्वासन स्वाभाविक रुपले ठूला र ग¥हुँगा हुने नै भए । राजनीतिक दलहरूका तर्फबाट काठमाडौँ महानगरभित्र ‘फ्लाई ओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको खेलकुद रङ्गशाला निर्माण, पाँच वर्षभित्र मेट्रो रेल निर्माण र निःशुल्क वाइफाइसम्मका योजना अघि सारिँदै छ ।
सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, खानेपानीको पाइप जडान, विद्युतीय सवारीसाधन, फोहर व्यवस्थापन, सम्पदा संरक्षण, नदीनालाको संरक्षणजस्ता विषय सबै दलको साझा योजनाको रुपमा प्रस्तुत भएका छन् ।
नेपाली काँग्रेसका महानगर प्रमुखका उम्मेदवार राजुराज जोशी काठमाडौँबाट जनताको पलायन रोक्न पनि भूकम्पपीडितलाई २५÷३० वर्ष अवधिको ऋण सुविधा उपलब्ध गराएर घर बनाउन दिनुपर्ने र यहाँको मौलिकतालाई जोगाइराख्नुपर्नेमा जोड दिनुहुन्छ । चलनचल्तीको मोलअनुसार क्षतिपूर्ति नदिई काठमाडौँमा एक इन्च पनि जमिन अधिग्रहण नगर्ने उहाँको प्रतिबद्धता छ ।
आन्तरिक आप्रवासनको समस्याले महानगरलाई कुरुप बनाएकामा चिन्तित काठमाडौँवासीले भित्री सहरमा नमुनाका रुपमा पुरानै शैलीमा एकीकृत बस्ती निर्माणको काम थालेका छन् । भूकम्पले भित्री सहरका धेरै घरलाई क्षति पु¥याएपछि एकीकृत बस्तीको आवश्यकता महसुस गर्दै स्थानीय जनताले यसमा पहलकदमी लिएका छन् ।
नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमका प्रमुख पदका साझा उम्मेदवार पवित्र बज्राचार्य यस्तो पहल भूकम्प जानुभन्दा ५÷६ वर्षअघि वडा नं २३ मा थालिएको दाबी गर्नुहुन्छ । उहाँका अनुसार त्यतिखेर वसन्तपुर, चिकंमुगल, मजिपाट जस्ता टोलका ७३२ घरलाई मिलाएर एकीकृत बस्ती निर्माण गर्न खोजिएको थियो र सर्वेक्षण र नक्सा निर्माणसम्मको काम भएको थियो तर यो कामको जश कसैले लिनेभयो भनेर पछि पन्छाउने काम भयो ।
खानेपानी, ढल र टोलकै सफाइ गर्न असमर्थ काठमाडौँवासीलाई ट्रेड टावरजस्ता संरचनाको आवश्यकता नरहेको र काठमाडौँभित्र रहेका व्यापारिक मलहरूमा व्यापार नभएर त्यहाँका व्यापारीले बहाल बुझाउन नसकिरहेको तथ्य पनि उहाँ औँल्याउनुहुन्छ ।
साझा पार्टीका तर्फबाट प्रमुख पदका लागि उम्मेदवार बन्नुभएका किशोर थापा नेवार संस्कृति र सम्पदाको केन्द्रको रुपमा काठमाडौँ महानगरलाई विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । ‘करुणामय राजनीति’ गर्ने अठोटसहित राजनीतिमा होमिएको बताउने उहाँ काठमाडौँको कला र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनबाट आयआर्जन बढाउनु पर्ने धारणा राख्नुहुन्छ ।
नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोल वाग्मती र विष्णुमतीको किनारैकिनार रेल बनाउनुपर्ने योजना अघि सार्नुहुन्छ । उज्यालो नेपाल अभियानलाई अगाडि बढाउने, राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरभित्र मापदण्ड विपरीतका निर्माण भएका घरको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्ने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।
स्वतन्त्र उम्मेदवार गोर्की श्रेष्ठ मातृभाषाबाट विद्यालयमा शिक्षा दिने व्यवस्था गर्न, अव्यवस्थित बसोबास रोक्न र खानेपानी आपूर्तिमा भइरहेको अव्यवस्था र चुहावट रोक्न आफू लागिपर्ने बताउनुहुन्छ ।
महानगरलाई चौबिसै घन्टा खुला बनाउने तथा पर्यटकीय आकर्षणको प्रमुख गन्तव्य बनाउने पार्टीको कार्ययोजनालाई मूर्तरुप दिने अठोट व्यक्त गर्नुहुन्छ, नेकपा (एमाले)बाट प्रमुख पदमा उम्मेदवार बन्नुभएका विद्यासुन्दर शाक्य । मेट्रो रेलको अवधारणा आफ्नो दलले ल्याएको र समृद्धिका लागि यस्तो परिवर्तन जरुरी रहेको उहाँ बताउनुहुन्छ । भवन निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्ने खाँचो पनि उहाँ देख्नुहुन्छ ।
काठमाडौँको गौरवपूर्ण इतिहास र वैभवशाली सांस्कृतिक परम्परालाई धान्दैआएका यहाँका मूलवासी नेवारहरू भने मातृभाषा शिक्षा र स्थानीय निकायमा नेपाल भाषालाई कामकाजी भाषाकै रुपमा मान्यता दिनुपर्ने पक्षमा उभिँदैआएका छन् र नेवाः जागरण मञ्चको एक छलफल कार्यक्रममा उनीहरूले यसतर्फ पनि उम्मेदवारहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
तपाईको प्रतिक्रिया