वीरगन्ज, ७ पुस । बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको बारेमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु उदाशिन देखिएका छन् ।
बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणमा तयार पारिने योजना सम्बन्धी छलफलका लागि नेपाल रेडक्रस सोसाईटी पर्साले शुक्रबार बोलाएको कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरु अनुपस्थित रहेका थिए । पर्साको तीन वटा स्थानीय तहको चार वटा वडामा नमूना स्वरुप कार्यक्रम संचालन गर्नका लागि आवश्यक तयारी र योजना निर्माणका लागि बोलाईएका जनप्रतिनिधिहरु अधिकांश अनुपस्थित रहेका हुन् ।
युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाईटी पर्साको आयोजनामा रेडक्रस पर्सामा भएको कार्यक्रममा जनप्रतिनिधिहरु अनुपस्थित भएपछि प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले विपद जोखिम न्यूनिकरणमा स्थानीय जनप्रतिनिधिहरुको अनुपस्थिति प्रति असन्तुष्टी व्यक्त गरे ।
उनले विपद जोखिम न्यूनिकरणका लागि जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने भएपनि कार्यक्रमको तयारीका लागि नै अनुपस्थित भएपछि असन्तुष्टी व्यक्त गरेका हुन् । उनले विभिन्न समयमा आउने दैवी प्रकोपबाट आईपर्ने विपद जोखिममा सबैभन्दा बढी बालबालिका, महिला, अपांग र वृद्धवृद्धाहरु नै पर्ने भएकोले यस्तो जोखिम न्यूनिकरणका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले गम्भीर भएर योजना तर्जुमा गरी जानुपर्ने बताए ।
उनले भने, “यसअघि राजनीतिक नारा र भाषणमा मात्रै सीमित रहेकोमा अब जनप्रतिनिधि निर्वाचित भएका छन्, उनीहरुले काम गरेर देखाउने बेला आएको छ ।” योजना तयारीका लागि बोलाईएको छलफलमा नै अनुपस्थित हुनुले बालबालिका केन्द्रीत विपद जोखिम न्यूनिकरणको सवालमा जनप्रतिनिधि गम्भीर नदेखिएको प्रजिअ सिंहले बताए ।
राजनीतिक नारा र भोटका लागि गरिने भावनात्मक भाषणले मात्रै नहुने भन्दै अब जनतालाई काम गरेर देखाउने समय आएको बताए । नेपाल रेडक्रस सोसाईटी पर्साका शाखाका सभापति फूल महम्मद मियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको बारेमा कार्यक्रमका संयोजक उमेश मिश्रले प्रकाश पारेका थिए ।
रेडक्रस पर्साका प्रशासकीय अधिकृत उदयराज शर्माले संचालन गरेको उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुधन नेपाल, कार्यक्रम संचालन हुने स्थानीय तहहरु जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १ पिडारी, पर्सागढी नगरपालिकाको वडा नम्बर ८ र ९ र विन्दवासिनी गाउँपालिकाको वडा नम्बर ३ को झौवागुठीका सचिव र जनप्रतिनिधि तथा रेडक्रस पर्सा शाखाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको रेडक्रस पर्साका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिए ।
तपाईको प्रतिक्रिया