वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।
स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको हो ।
आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश दिएसँगै अतिक्रमण गरेर निर्माण गरेको संरचना महानगरले हटाइएको हो ।
सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताए ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढेको छ । सोही अनुसार आज नगवाको नयाँ गाउँमा सडक अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।
अतिक्रमण हटाउन महानगरको सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।
तपाईको प्रतिक्रिया