कलैया ।टिकटक भिडियो बनाउन दुधौरा खोलामा हाम फालेका २१ वर्षीय विकी गोसाइँ मृत फेला परेका छन।
बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। लगातारको वर्षाका कारण खोला उर्लिंदै बगिरहेको समयमा उनी बेपत्ता भएका थिए।
छ दिनपछि उनको शव गण्डकतर्फ जाने बङ्गरी पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
गोसाइँसँगै हाम फालेका उनका साथी २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आइपुगेका थिए।
बेपत्ता युवकको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ४३ जनाको संयुक्त टोली खटिएको थियो।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना सहितको टोलीले खोजी सञ्चालन गरेको थियो।
तपाईको प्रतिक्रिया