वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठान, पर्सागढी–२ कटानी र वीरगंज सामुदायिक आँखा केन्द्रको संयुक्त पहलमा पर्सागढी नगरपालिका–२ कटानीमा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।
निःशुल्क आँखा शिविर मार्फत स्थानीय बासिन्दालाई समुदायमै पुगेर आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजित शिविरमा सर्वसाधारणले परीक्षण, परामर्श तथा औषधि सेवा पाएका छन्।

शिविरको उद्घाटन ८५ वर्षीय जेष्ठ नागरिक बलबहादुर आचार्यको आँखा परीक्षण र स्वास्थ्य जाँचबाट गरिएको थियो। शिविरमा दृष्टि परीक्षणदेखि आवश्यक परामर्श र उपचारका औषधि वितरणसम्मका सेवा प्रदान गरियो।
जटिल अवस्थामा वरिष्ठ सर्जनहरूको टोलीमार्फत शल्यक्रिया गर्ने व्यवस्था पनि गरिएको आयोजकहरूले बताए।
वीरगंज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक महेश सिंह धामीसहित ५ सदस्यीय प्राविधिक चिकित्सक टोलीले शिविर सञ्चालन गरेका थिए। शिविरमार्फत समुदायमै सहज र गुणस्तरीय आँखा सेवा प्राप्त भएपछि स्थानीयहरू खुशी भएका छन्।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सल्लाहकार अमिताभ बच्चन दास, रमेश मानन्धर, सुनिल रौनियारलगायतको उपस्थिति थियो। स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरबाट धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ।
तपाईको प्रतिक्रिया