वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।
मानव सेवा आश्रम वीरगञ्ज शाखाको ८औँ वार्षिक उत्सव समारोहको शुक्रबार वीरगंजमा उद्घाटन गर्नै मन्त्री पटेलले यस्तो बताएका हुन ।
उनले मानवीय सेवा नै सबैभन्दा ठुलो धर्म भएको बताए । मन्त्री पटेलले आश्रमले एक वर्षभरि सडक मठ–मन्दिर र सार्वजनिक स्थलबाट उद्धार गरिएका असहाय व्यक्तिहरूको जीवनमा ल्याएको सकारात्मक परिवर्तनलाई स्मरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले वीरगञ्जमा निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माण मानवताको मन्दिर भएको उल्लेख गर्दै त्यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
“राज्यको सहयोग सीमित भए पनि मानव सेवा आश्रम जस्ता संस्थाहरू समाजसेवी र दाताहरूको करुणा र सहयोगले नै चलेका छन्,” उनले भावुक हुँदै भने।
आत्मीय र भावनात्मक वातावरणबीच सम्पन्न समारोह सेवाभाव, करुणा र मानवीय उत्तरदायित्वको सुन्दर सन्देश प्रतिध्वनित भएको थियो।
उक्त अवसरमा आश्रमले विगत एक वर्षभित्र सञ्चालन गरेका गतिविधि, दाता विवरण तथा आय–व्यय विवरण सार्वजनिक गर्दै पारदर्शिता र उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो।
समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगञ्ज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायत विशिष्ट व्यक्तित्वहरूले मानव सेवा, सामाजिक उत्तरदायित्व र सहकार्यको महत्त्वबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गरेका थिए। सो अवसरमा आश्रमलाई निरन्तर सहयोग पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
तपाईको प्रतिक्रिया