वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतमको निरन्तर, जिम्मेवार र मूल्यनिष्ठ पत्रकारितालाई कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।
स्वर्गीय सुदर्शनराज पाण्डेको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। पाण्डे नेपाल पत्रकार महासंघ पर्साको स्थापनामा महत्वपूर्ण भूमीका खेल्ने मध्यका एक हुन ।
नेपाल पत्रकार महासंघ पर्साको सचिवको भूमिकामा रहेर प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशिल पाण्डे पत्रकारिताका गुरु समेत थिए ।
यसैगरी, स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार बाट वीरगन्जकी दुई महिला पत्रकारलाई सम्मानित गर्ने निर्णयसमेत गरिएको छ।
महासंघ पर्सा शाखाका अनुसार पत्रकार माधुरी महतो लाई स्व.नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ र पत्रकार बिमला गुप्ता लाई स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिने भएको हो।
महिला पत्रकारिताको सशक्त उपस्थितिलाई उजागर गर्दै यी दुई पत्रकारलाई सम्मान गर्ने निर्णयले स्थानीय पत्रकारितामा महिलाको भूमिकालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले विभिन्न स्मृति पुरस्कारमार्फत निष्पक्ष, निर्भीक र समाजप्रति उत्तरदायी पत्रकारितामा सक्रिय पत्रकारहरूलाई सम्मान गर्दै आएको छ।
तपाईको प्रतिक्रिया