बागलुङ । बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।
तीन पटकसम्म दरखास्तको म्याद थप्दा पनि माग अनुसारको आवेदन संख्यामा आवेदकहरु नआएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ १ हजार २ सय ९८ जना र सशस्त्र प्रहरीतर्फ १ सय ८९ जना गरी कुल १ हजार ४८७ जनाको माग गरिएको थियो।
तर हालसम्म नेपाल प्रहरीतर्फ १ हजार ४८ जना र सशस्त्र प्रहरीबाट मात्र ३ जना गरी जम्मा १ हजार ५१ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
आवेदन दिनेहरूमध्ये ८ सय २३ जना पुरुष र २ सय २८ जना महिला रहेका छन्। पुस २४ गतेदेखि माघ १ गतेसम्म प्रारम्भिक रूपमा दरखास्त आह्वान गरिएको थियो। उक्त अवधिमा मागअनुसार आवेदन नपरेपछि माघ २ र ३ गते थप दुई दिन म्याद बढाइएको थियो।
त्यसपछि पनि आवश्यक संख्या नपुगेपछि तेस्रो पटक आइतबारसम्म आवेदन दिने समय थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । हाल माग पूरा गर्न अझै ४ सय ३६ जना आवश्यक रहेको उनको भनाइ छ।
आवेदन प्रक्रिया सहज बनाउन जिल्ला प्रहरी कार्यालय बागलुङसँगै इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। समयमै पर्याप्त जनशक्ति व्यवस्थापन गर्न म्याद थप गरिएको भन्दै योग्य इच्छुक नागरिकलाई आवेदन दिन प्रहरीले आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया