वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।
समस्या समाधानका लागि जनप्रतिनिधिसँग छलफल गर्न पुगेका स्थानीयले भेट नपाएपछि कार्यालयको मूल ढोकामा तालाबन्दी गरेका छन्।
करिब ४० देखि ५० जनाको समूहमा नगरपालिका कार्यालय पुगेका स्थानीयले नगर प्रमुख सिंगासन साह तेली र उपप्रमुख सुष्मा कुमारी कुशवाहासँग भेट गरी मलखादको समस्या राख्न खोजेका थिए। तर दुवै जनप्रतिनिधिले भेट नदिएको भन्दै स्थानीय आक्रोशित बने।
त्यसपछि उनीहरूले नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीलाई बाहिर निकालेर मूल ढोकामा तालाबन्दी गरेका हुन्।
स्थानीयका अनुसार खेतमा मल हाल्ने समय भइसक्दा पनि आवश्यक मात्रामा मलखाद उपलब्ध हुन सकेको छैन। मलखादका लागि पटक–पटक सम्बन्धित निकायमा गुनासो गर्दा पनि समस्या समाधान नभएको उनीहरूको आरोप छ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीले भने स्थानीयहरू जनप्रतिनिधिसँग छलफल गर्न कार्यालय आएको र भेट हुन नसकेपछि आक्रोशित भएर तालाबन्दी गरेको बताए।
मलखाद वितरण तथा उपलब्धताको विषयमा स्थानीय तह र सम्बन्धित निकायले प्रभावकारी समन्वय गर्न नसकेको भन्दै स्थानीयले तत्काल समस्या समाधानको माग गरेका छन्।
तालाबन्दीपछि नगरपालिका कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
तपाईको प्रतिक्रिया