काठमाडौं, २९ असोज :
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ । दोस्रो खेल आज हुने तय भएपनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमार्फत यस्तो जानकारी गराएको छ ।
नेपाल र हङकङबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ७ बजेपछि सुरु हुने तय भएको थियो । तर, हङकङका अधिकारीले सामुन्द्रिक आधी आउने जानकारी दिँदै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।
खेल भोलि हुने जनाइएको छ । हङकङको मौसम विभागले हङकङ स्थानीय समयअनुसार बिहान ९ बजेसम्म ‘टाइफुन ८’ आउने अनुमान गरेको छ । त्यस्तै अपरान्ह भारी वर्षा हुने विभागले जनाएको छ ।
च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो । हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो ।
घरेलु टोलिविरुद्धको पहिलो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको थियो । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया