सीमरा २५ माघ । रुस्लान नवौं सिमरा गोल्डकपको पहिलो खेलमा आयोजक नवजनजागृति युवा क्लबले विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा बिहीबार हेटौंडाको विजय युथ क्लबलाई ४–१ ले हराउँदै नवजनजागृति क्वार्टरफाइनलमा पुगेको हो ।
आयोजकको जितमा विशन गुरुङ, त्रिदेव गुरुङ, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले गोल गरे । हटौंडाका लागि एकमात्र सान्त्वना गोल अमिर श्रेष्ठले गरेका थिए ।
८० मिनटमा छोट्याईएको खेलको ४४ औं मिनटमा हेटौडाका अमिर श्रेष्ठले बराबरी गोल गरे । सिमराका शौरभ मगरले गोलकिपर विशाल श्रेष्ठलाई दिएको पासमा अमिरले गोल गरेका हुन् । शौरभको फितलो प्रहारको फाइदा उठाउँदै अमिरले बराबरी गोल गरका हुन् ।
आयोजकको घरेलु मैदानमा बराबरी पछि उत्साहित हेटौंडाका समर्थकहरुलाई निराश बनाउँदै धिरजले ५२ औं मिनटमा गोल गरेपछि हेटौंडा दबाबमा पर्यो । अन्तिम तिर भिक्टरले गोल थपे । इन्जुरी समयमा त्रिदेवले गोल गरेपछि आयोजकले फराकिलो जित दर्ता गर्यो । म्यान अफ दी म्याच बनेका त्रिदेवले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा शुक्रबार आयोजक नवजनजागृती यूवा क्लबको एनजेजेवाईसि ‘निलो’ र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग नलिने जनाएपछि आयोजकले २ टोली उतारेको हो।
त्यसअघि चर्चित हास्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेले प्रतियोगिताको उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई सिमराका विभिन्न नीजि विद्यालयबाट आएका विद्यार्थीहरुले बाजागाजा सहित स्वागत गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष कासिम मियाँको अध्यक्षता भएको उद्घाटन सत्रमा पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सभा सदस्यहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, सिता गुरुङ्ग, शोभा लामा लगायतको उपस्थिति थियो । प्रेस संयोजक सुनील गाउँलेले कार्यक्रमको सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया