रौतहट । रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरसहितका संरचना निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८१र८२ मा मधेश प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय, गौरबाट परोहा नगरपालिका–९ स्थित रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन, भैरवनाथ मन्दिर तथा अधुरो राधाकृष्ण मन्दिर निर्माणका लागि ५० लाख ६६ हजार ९ सय ७५ को लागत अनुमान स्वीकृत भएको थियो।
निर्माण कार्यका क्रममा स्थलगत नापजाँच गर्दा फिल्डमा वास्तविक रूपमा भएको कामभन्दा नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा बढी परिमाण देखाइएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ। त्यसरी वास्तविक कार्यभन्दा बढी देखाई ६ लाख ८० हजार ५ सय ९२ रुपैयाँ ४३ पैसा बढी भुक्तानी लिएको–दिएको आयोगको दाबी छ।
आयोगका अनुसार पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेलले आपसी मिलेमतो तथा योजनामा बदनियत राखी फिल्डमा नभएको कामलाई भएको देखाई नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरेको आरोप छ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (ग)र (ङ) बमोजिमको कसुर गरेको आरोप लगाउँदै बिगो ६ लाख ८० हजार ५ सय ९२ रुपैयाँ ४३ पैसा कायम गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ। साथै गलत प्रतिवेदन तयार गरेको आरोपमा दफा १९(२) बमोजिमसमेत सजाय माग गरिएको छ।
त्यस्तै, उक्त निर्माण योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई मुख्य कसुरदारलाई गैरकानुनी लाभ पुग्ने कार्यमा मतियार बनेको आरोप लगाइएको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदारलाई हुने सजायसरह कैद तथा जरिवाना हुनुपर्ने मागदाबी लिइएको अख्तियारले जनाएको छ।
तपाईको प्रतिक्रिया