बारा । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या भएको घटनामा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ ९ गते बिहान करिब ९ बजे घरबाट हराएका राजेशको खोजी गर्ने क्रममा भदौ ११ गते बिहान भारतको बिहार, मोतिहारी जिल्ला अन्तर्गत नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदीको किनारमा शव फेला परेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीबाट प्राप्त सूचना तथा भारतीय प्रहरीसँगको समन्वयबाट राजेशलाई विश्रामपुरबाट अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको छ।
सोही आधारमा घटनामा संलग्न रहेको आरोपमा विश्रामपुरकै १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो।
नाबालक भएकाले प्रहरीले पक्राउ परेका किशोरको नाम सार्वजनिक गरेको छैन।
उनलाई अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया