सिरहा । सिरहामा स्रोत नखुलेको रकमसहित सिरहा नगरपालिका–२ निवासी ३५ वर्षीय शम्भु भनिने जितेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
महतोलाई सिरहा नगरपालिका–७ हेमनारायण चोकस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका महतोलाइृ चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनले बोकेको झोलाबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकममा १ हजार दरका १ हजार १२ थान नोट, अर्थात् १० लाख १२ हजार र ५ सय दरका ५ सय थान नोट, अर्थात् २ लाख ५० हजार रहेका छन्।
यसैगरी १ सय दरका ६ थान र ५० दरका ६ थान गरी थप ९ सय बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद रकमको कुल मूल्य १३ लाख १२ हजार ४ सय रहेको जनाएको छ।
रकमको स्रोत खुलाउने प्रमाण तथा कागजात तत्काल पेश गर्न नसकेपछि प्रहरीले उनलाई रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। स्रोत नखुलेको रकमबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया