वीरगन्ज । पर्साको वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी जिल्ला, पलानवा थाना–१० का करिब ५५ वर्षीय अशोक कुमार रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब साढे बजे वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारतबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकललाई रोकी नियमित चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारतीय रुपैयाँ फेला परेको पर्साका प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४३ थान नोट रहेका छन् । बरामद रकमको कुल मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ रहेको छ ।
प्रहरीले रकमसहित मोटरसाइकल र अशोक कुमारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया