सिरहा । सिरहा प्रहरीले १ किलोभन्दा बढी प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त प्रहरी टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतको बिहार राज्यको मधुबनी जिल्ला, बेला पञ्चायत वडा नं। ८ का ४५ वर्षीय लालबाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास पक्राउ परेका हुन्।
उनीहरू सवार बीआर ३२४ भी ७५७४ नम्बरको भारतीय मोटरसाइकलबाट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधमा १ किलो १० ग्राम ब्राउन सुगर रहेको र प्लास्टिकसहितको तौल १ किलो २९२ ग्राम २२ मिलिग्राम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
तपाईको प्रतिक्रिया