वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली भारतबाट भित्र्याइएका २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सामानसहित तीनवटा गाडी बरामद गरेको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० रानीघाटबाट मंसिर ६ गते बिहान करिब ११ः४० बजे भन्सार छली गरी ल्याइएका खाद्यान्न सामग्रीसहितको ईभी अटो बरामद गरिएको हो।
उक्त सामानको मूल्य ४ लाख २३ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, मंसिर ७ गते राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–१७ रामगढवाबाट भारतीय नम्बर प्लेटका दुईवटा पिकअप गाडी बरामद गरिएको छ।
ती गाडीमा भन्सार छली गरी ल्याइएका कपडालगायतका सामान फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामानको मूल्य १७ लाख ७९ हजार २ सय रुपैयाँ रहेको छ। तीनवटै गाडीमा रहेका सामानको कुल मूल्य २२ लाख २ हजार ७०० रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद गरिएका सामान तथा गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया