ताप्लेजुङ, १८ वैशाख । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिनुभयो ।
चट्याङले पासाङ शेर्पा सामान्य घाइते भएका छन् । तीनतले घर जल्दा लाखौँको क्षति भएको तर पूर्ण विवरण सङ्कलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताउनुभयो ।
बालकको मृत्यु
यसैगरी छाताको डाँठमा बारुद भरेर आगो सल्काउँदा पड्किएर घाइते भएका आठराई त्रिबेणी गाउँपालिका– १ निघुरादिनका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुकवीर तामाङका छोरा १० वर्षीय मिलन तामाङ रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार शनिबार साँझ साथीसँग बसेर सलाइको बारुद निकालेर डाँठमा भरेको र पछि आगो सल्काउँदा पड्किएर मिलन घाइते भएका थिए । सँगै रहेका रुपनारायण नाम गरेका साथी भागेका थिए । घाइते भएका मिलनलाई भने आइतबार बिहान स्कूल जाने साथीले लडिरहेको देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँलेले थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको मृत्यु भएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया