जनकपुर,। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परेका छन् ।
लागूऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन् ।
उनीहरुलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
यसअघि आजै लखौरीबाट लागूऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।
राति भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए । धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालयले पनि घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दिपक भारतीले बताए ।
थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषयमा गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया