वीरगञ्ज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।
बाराको कलैया उपमहानगरपालिका–२२ मदिलवा टोलका १५ दिने शिशुलाई जन्डिसको समस्या देखिएपछि कात्तिक २९ गते अस्पताल भर्ना गरिएको थियो। शिशुलाई अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
परिवारका अनुसार शिशुको स्वास्थ्यमा सुधार आएको भन्दै डिस्चार्ज गर्ने तयारी भइरहेका बेला सुई लगाएपछि शिशु छटपटाउन थालेका थिए। तर तत्काल चिकित्सक उपचारका लागि नपुगेको आफन्तको आरोप छ।
अन्ततः दिउँसो २ बजेर १८ मिनेटमा शिशुको मृत्यु भएको जानकारी अस्पतालले दिएको परिवारको भनाइ छ।
घटनापछि आक्रोशित आफन्तले उपचारका क्रममा भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न, सीसीटीभी फुटेज उपलब्ध गराउन तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
आफन्तले अस्पताल प्रशासनले घटनाको वास्तविकता बाहिर ल्याउन आनाकानी गरेको आरोपसमेत लगाएका छन्। उनीहरूले निष्पक्ष छानबिन नभएसम्म शिशुको शव नबुझ्ने अडान लिएका छन्।
यसैबीच, घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले शिशुको मृत्यु भएपछि आक्रोशित आफन्त अस्पताल परिसरमा पुगेको पुष्टि गरेका छन्।
अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु हुनु आफैँमा गम्भीर विषय हो। तर प्रत्येक घटनापछि लापरबाहीको आरोप, आन्दोलन र छानबिनको माग दोहोरिरहँदा सम्बन्धित सरकारी निकायको जिम्मेवारीमाथि पनि प्रश्न उठ्छ।
यदि उपचारमा लापरबाही भएको हो भने निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ। बिरामी र नवजात शिशुको जीवनसँग जोडिएका यस्ता घटनामा अस्पताल प्रशासन र नियामक निकायले जवाफदेहिता देखाउन आवश्यक छ।
तपाईको प्रतिक्रिया