लालबन्दी । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन सम्बन्धि गोष्ठी सर्लाहीमा सम्पन्न भएको छ ।
मधेस प्रदेशका पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना विमा कार्यक्रम कार्यान्वयन र पत्रकारिता अध्ययन छात्रवृत्ति तथा प्रोत्साहन सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको हो ।
मधेस सरकारको गृह,सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीको प्रमुख आतिथ्य तथा आम सञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्त्री लेखीले पत्रकारिता पेशा जोखिमयुक्त रहेकोले स्वास्थ्य र दुर्घटना बिमा अति नै आवश्यक रहेको बताए ।
उनले पत्रकारिता स्वच्छ र निष्पक्ष हुनु पर्ने बताउदै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि प्रविधिमैत्री तालिम र पत्रकारिता अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्न लागेको समेत जनाए ।
मन्त्री लेखीले सञ्चार र पत्रकारिता क्षेत्रमा निकै नै समस्या र चुनौती रहेकोले सम्पूर्ण सञ्चारकर्मीलाई नडग्मगाई समस्या र चुनौतीलाई सामाना गर्न अपिल गरे ।
कार्यक्रममा पत्रकारिता अध्ययन छात्रवृत्ति र प्रोत्साहन मस्यौदामाथी समेत छलफल भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया