वीरगन्ज । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गरेको हो ।
कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन् ।
नेपाल प्रहरी मुख्यालयले मधेश प्रदेशका चार जिल्लाका प्रहरी कमाण्डरको सरुवा गरेको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयले सोमबार निकालेको ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा/काजमा मधेश प्रदेशका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका हुन् । प्रदेशका धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका एसपीहरुको सरुवा भएको छ ।
प्रहरी मुख्यालयले धनुषामा एसपी भुवनेश्वर तिवारीको ठाउँमा नरहरी रेग्मीलाई पठाएको छ भने तिवारीलाई नेपाल प्रहरी विपद् व्यवस्थापन सामाखुसी सरुवा गरेको छ । रेग्मी ०६२/०६३ को आन्दोलन ताका वीरगंजमा प्रहरी नीरिक्षकको रुपमा कार्यरत थिए ।
त्यसैगरी रौतहटमा नेत्रमणि गिरी आउने भएका छन् । गिरी कर्णाली प्रदेश प्रहरी गण, विरेन्द्रनगरबाट रौतहट आउन लागेका हुन् । रौतहटका हालका एसपी दिलिप घिमिरेको नेपाल प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा सरुवा भएको छ ।
यसैगरी, सर्लाहीका हालका एसपी रविन्द्र बहादुर सिंहको प्रहरी मुख्यालय नक्सालमा सरुवा भएको छ । उनको स्थानमा लुम्बिनी प्रदेश प्रहरी गण, बाँकेबाट योगेन्द्र कुमार खड्का आउने भएका छन् ।
त्यसैगरी महोत्तरीमा हेरम्ब शर्मा सरुवा भएर आउने भएका छन् । उनी नेपाल प्रहरी विपत् व्यवस्थापन शाखाबाट सरुवा भइ महोत्तरी आउन लागेका छन् । महोत्तरीका हालका एसपी नकुल पोखरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ ।
यसैगरी गण्डकी प्रदेश प्रहरी गण पोखराबाट सिरहामा काजमा आएका अनन्त राम शर्माको दरबन्दी सिरहामै कायम भएको छ । यता, ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका हालका ट्राफिक प्रमुख भिमकिरण बोगटीको स्थानमा राजकुमार सिलवाल आउने भएका छन् ।
एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा राजन लिम्बू , चितवनमा गोविन्द पुरी, कैलालीमा बालनरसिंह राणा, सुर्खेतमा सुधीरराज शाही सरुवा भएका छन् ।
तपाईको प्रतिक्रिया