वीरगन्ज। नेपाल पत्रकार महासंघ पर्सा शाखा वीरगन्जले शनिबार बिहान वीरगन्जमा प्रभातफेरी गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ।
घन्टाघरबाट प्रारम्भ भएको प्रभातफेरी कार्यक्रम माईस्थान, आदर्शनगर हुँदै पुनः घन्टाघर पुगेर कोणसभामा परिणत भएको थियो।
प्रभातफेरीको उद्देश्य अभिव्यक्ति स्वतन्त्रता, प्रेसको निष्पक्षता तथा पत्रकार सुरक्षाको मागसहित समाजमा प्रेसको महत्वबारे जनचेतना फैलाउनु रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सचिव अशोक तिवारीले पछिल्लो समय मुलुकमा प्रेस स्वतन्त्राको हनन भइरहेको बताए । उनका अनुसार राज्यकै निकायबाट प्रेस स्वतन्त्रताको हनन भइरहेको देखिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेले विश्व प्रेस स्वतन्त्रता दिवसले राज्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न एवं पत्रकारहरूलाई सत्य, निष्पक्ष, नैतिक र उत्तरदायी पत्रकारिता गर्नतर्फ प्रेरित गर्ने बताए।
उनले प्रजातन्त्रको अभावमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न नसकिने प्रष्ट पार्दै लोकतन्त्रको रक्षा पत्रकारहरुको भूमिका पनि अवश्यक रहेको बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पनि पछिल्लो समय पत्रकार र सञ्चारमाध्यममा आक्रमणका घटना बढिरहेको बताए । यस्ता घटनामा संलग्नहरुलाइ राज्यले तत्काल कारबाही गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।
महासं पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरूलाई सधैं सचेत, निडर र उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान गरे।
उनले सञ्चारमाध्यममाथि देखिने विभिन्न प्रकारका प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबहरूप्रति चिन्ता व्यक्त गर्दै, स्वतन्त्र प्रेसका लागि सशक्त नागरिक सहयोग आवश्यक रहेको धारणा राखे।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालले गरेका थिए भने कार्यक्रमको संचालन महासंघका सह सचिव अजय चौरसियाले गरेका थिए।
तपाईको प्रतिक्रिया