वीरगन्ज महानगरपालिकाले नारायणी अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लाण्टको योजना स्थगित भएको जनाएको छ ।
महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बिहिवार एक विज्ञप्ति जारी गर्दै महानगर अक्सिजन प्लान्ट जडानको योजनाबाट पछाडि हटेको जानकारी दिनु भएको हो ।
कोरोना भाइरसको दोश्रो भेरियन्ट सहितको संक्रमण निकै पीडादायी भएको र अक्सिजनको अभावमा ज्यान गइरहेको बेलामा महानगरले अक्सिजन प्लान्ट जडानको योजना अगाडि सारेको थियो ।
दाताहरुको सहयोग र महानगरपालिकाको पनि लगानीमा अक्सिजन प्लाण्ट स्थापना गर्ने योजना सहितको कार्यक्रम अगाडि बढाउदा सामाजिक संजाल र संचार माध्यममा भएका टिप्पणी प्रति महानगरले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारले पनि अक्सिजन प्लाण्ट निर्माणका लागि नारायणी अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराईदिएको जानकारी हुन आएको र महानगरपालिकाले अक्सिजन प्लाण्ट स्थापनाका लागि खर्च गर्न नपर्ने भएपछि योजना स्थगित गरिएको जारी बिज्ञप्तिमा उल्लेख छ ।
महानगरपालिकाले अक्सिजन प्लाण्ट जडान स्थगित भएपछि यसका लागि सार्वजनिक अपिल मार्फत दाताहरुले उपलब्ध गराएको सहयोग रकम उनीहरुको सहमतीमा कोभिड–१९ नियन्त्रणको अन्य काममा खर्च गरिने समेत जनाएको छ ।
अक्सिजन प्लाण्ट स्थगित गरेपनि नारायणी अस्पतालमा विद्युत सेवालाई प्रभावकारी बनाउनका लागि ३०० केभिएको ट्रान्सफमर तथा २० केभिएको युपिएस जडान कार्य भने अगाडी बढाईने महानगर प्रमुख सरावगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पर्सा क्षेत्र नम्बर २ का संघीय संसद विमल श्रीवास्तवको संसदीय कोषबाट खर्च हुनेगरी १ करोड ४८ लाखको बोलपत्र स्वीकृत भईसकेको तर ठेकेदारले हालसम्म पनि अक्सिजन प्लाण्ट आपूर्तिमा ढिलाई गरेकोले महानगरपालिकाले १५ दिनमा अक्सिजन प्लाण्ट लगाउने गरी योजना अगाडी बढाएको अवस्थामा अक्सिजन प्लाण्टको लागि नेपाल सरकारले नारायणी अस्पताललाई रकम निकासा गरेको हुँदा अस्पताल प्रशासनलाई तत्काल प्लाण्ट जडान गर्न माग समेत गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिकाको तर्फबाट यसअघि एउटा भेण्टिलेटर उपलब्ध गराएको र केही दिनमै फेरी थप ३ वटा भेण्टिलेटर नारायणी अस्पतालमा उपलब्ध गराउने समेत महानगर प्रमुख सरावगीले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया