बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।
उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा हिजो बेलुकी साढे सात बजे आगलागी भएको हो ।
आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले बताउनु भयो । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिनु भयो।
मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौढ र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।
घाइते चारजनामा राजकुमार विक, इन्द्रप्रसाद अधिकारी, नवराज चौलागाई र अवधेस कुसवाहा रहेका छन् । उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका विकलाई वीरगञ्जको नारायणी वयोधा अस्पतालमा रिफर गरिएको छ ।
तपाईको प्रतिक्रिया