वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तूबिहार चोकबाट कटुवा पेस्तोल तथा गोलीसहित एक बेवारिसे कार बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गाडी मोबाइल टोलीले बास्तूबिहार चोक क्षेत्रमा रोकिराखेको UP 16 AJ 3301 नम्बरको बेवारिसे कार चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारभित्र बोरामा लुकाएर राखिएको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका हातहतियार, गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश भट्टले घटनाबारे जानकारी दिएका हुन्।
तपाईको प्रतिक्रिया