वीरगंज । वीरगंज बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्र काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले संयुक्त रूपमा उक्त निर्णय लागू गरेका हुन्।
यात्रुको सुरक्षा सुनिश्चित गर्ने र रातिको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
कार्यालयका अनुसार रातिको समयमा लामो दूरीको यात्रा गर्नुपर्ने यात्रुहरूले रात्रि बस सेवा मात्र प्रयोग गर्नुपर्ने छ।
यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय पर्सा तथा यातायात व्यवसायीहरूले यात्रुहरूलाई सोही अनुसार यात्रा गर्न आग्रह गरेका छन्।
यस बिषयमा गत वैशाख २४ गते बिहीबार पसाृका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला सवारी आवागमन तथा यात्रु सुरक्षा सम्बन्धी बैठकले निर्णय गरेको थियो ।
सोही निर्णयलाई पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको हो।
यात्रुहरूले पनि सुरक्षित यात्रालाई प्राथमिकता दिँदै ल्याइएको निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
निर्धारित समयभित्र दिवा सेवाका सवारीसाधन प्रस्थान गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा यात्रुहरू सुरक्षित रूपमा गन्तव्यमा पुग्न सहज हुने र रात्रिकालीन जोखिम कम हुने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायले नियमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने र व्यवसायी तथा यात्रुहरूलाई नियम पालना गर्न आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया