वीरगन्ज । पर्सामा अवैध रूपमा गाँजाको ओसारपसार तथा कारोबार भइरहेको अवस्थामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायरसमेत गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोवार राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पटेर्वासुगौली गाउँपालिका–१, सोनवर्षको मलाही टोल स्थित क्षेत्रमा गाँजाको ओसारपसार भइरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो।
प्रहरी टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भाग्न खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरीले घटनास्थलबाट ३० किलो लागूऔषध गाँजा बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ बस्ने ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीया भुटी भन्ने भुरी चौधरी रहेका छन्।
प्रहरीका अनुसार गाँजा ओसारपसार तथा कारोबारमा उनीहरूको संलग्नता देखिएपछि तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
तपाईको प्रतिक्रिया