वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँग टेलिफोनमा चर्को स्वरमा बोलेको अडियो भाइरल भएपछि पक्राउ परेकी महिलालाई पर्सा जिल्ला अदालतले थप ३ दिनको म्याद दिएको छ।
प्रहरीका अनुसार बाराको कलैया घर भई हाल वीरगन्ज–मुर्लीमा बस्दै आएकी किरण साहलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि विद्युतीय अपराध, ज्यान मार्ने धम्की र झुटो प्रचार गरेको अभियोग लगाइएको छ।
३ वटा मुद्धामा अभियोग लगाएर मन्त्री यादवका स्वकीय सचिव हरिन्द्र साहले दिएको जाहेरीका आधारमा उनी बिरुद्ध मुद्धा चलाइएको छ।
शुक्रबार राति सामाजिक सञ्जालमा मन्त्री यादव र साहबीचको फोनवार्ता भाइरल भएको थियो।
अडियोमा साहले वीरगन्जमा फैलिएको हैजा र दूषित पानीको कारण मान्छे मरिरहेको उल्लेख गर्दै मन्त्रीलाई कडा प्रश्न गरेकी थिइन्। उनले आक्रोशित हुँदै भनिन् “तपाईंले फोन किन रिसिभ नगर्नु भएको ? हैजाले मान्छे मरेका छन्, मेरो आफ्नै मान्छे आईसीयूमा छन्। म तपाईंलाई छोड्दिनँ।”
तपाईको प्रतिक्रिया