जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले बिहीबार पद तथा गोपनीयताको सपथसँगै पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मुख्यमन्त्री बनेका सोनलले भोजपुरी भाषामा शपथ लिएर जनकपुरधाम मुजेलियास्थित शहीद स्मारकमा माल्यार्पण गरेका थिए। पदभार ग्रहण कार्यक्रममा विना विभागीय मन्त्री महेश प्रसाद यादव र कनिष पटेल पनि सहभागी थिए।
सोनलले बताएअनुसार, एपमार्फत प्रदेश सरकारको निर्णय, जनताको गुनासो, सुझाव र विचार प्रत्यक्ष रूपमा मुख्यमन्त्रीको कार्यालयमा पुग्ने व्यवस्था हुनेछ।
“पदभार ग्रहणसँगै सबै निर्णय मन्त्रिपरिषद्को बैठकमार्फत हुनेछ। त्यसअघि एप सुचारु गरेर जनता र सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने तयारी गरिएको छ,” उनले भने।
‘हेल्लो सिएम’ एप पहिलो पटक तत्कालिन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु गरिएको थियो। एप विशेष गरी महिलाको सुरक्षा र आपतकालीन अवस्थाको सूचना प्रवाहका लागि बनाइएको थियो, तर केही दिनमै प्लेस्टोरबाट अनुपलब्ध भएको थियो।
सोनलले ५ दलको ५६ सदस्यीय प्रदेशसभा समर्थन पाइसकेका छन्।यद्धपी जनमतका २ सदस्यले जनस्वराज अंगालेको र जसपाका १ सांसद निलिम्वित अवस्थामा छन । हाल उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय आफ्नो मातहतमा राखेका छन्।
राजनीतिक दलहरूबीचको भागबन्डासँगै विना विभागीय मन्त्री र थप मन्त्री नियुक्तिको योजना पनि अघि बढाउने तयारी गरिएको छ।
तपाईको प्रतिक्रिया