इलाम । मोरङ्गमा पत्रकार तेजन खड्का एक वडा अध्यक्षको उजुरीका आधारमा साइबर अपराधको आरोपमा पक्राउ परेका छन्।
उर्लाबारी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उर्मिला थापाले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत आफ्नो चरित्रमा आँच आउने तथा आपत्तिजनक सामग्री सम्प्रेषण गरिएको भन्दै खड्काविरुद्ध उजुरी दिएको बताइएको छ।
वडा नं ७ को खोलाको बगरमा युवा समूहले मैदान बनाउन लागेपछि ऊर्लाबारी नगरपालिका–७ ले रोक्यो । झाडी उखालेर सबै सफा पारिसकेको अवस्थामा पार्क बनाउने भन्दै वडाले अवरोध गरेपछि युवाहरु विरोधमा उत्रिए । उनीहरुले केही दिन आन्दोलन नै गरे ।
त्यसअघि सो ठाउँ लागुऔषधको अखडा थियो । त्यहाँ युवायुवती,किशोरकिशोरी डेटिङ्गमा आउँथे । सो सन्दर्भमा अस्ति बुधबार उनले ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ,आम्दानी हुन्छ’ भन्दै स्ट्याटस लेखे ।
उनको स्ट्याटसमाथि आपत्ति जनाउँदै वडाध्यक्ष उर्मिला थापाले विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत उजुरी हालिन् । ईलाका प्रहरी कार्यालय,उर्लाबारीले उनलाई आज घरबाटै समातेको छ । जिल्ला प्रहरी कार्यालय पुर्याएर अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
पक्राउको घटनाले प्रेस स्वतन्त्रता, आलोचनात्मक पत्रकारिता र साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाको प्रयोगबारे बहस सिर्जना गरेको छ।
तपाईको प्रतिक्रिया