वीरगंज । वीरगंज महानगरपालिका–२५ स्थित सिर्सियामा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै धर्नामा बसेका स्थानीयले छलफलका लागि पुगेका ड्राइपोर्टका सरकारी प्रतिनिधिलाई फर्काएका छन्।
मुआब्जा पाउनुपर्ने माग राख्दै धर्नामा बसेका स्थानीयसँग कुराकानी गर्न ड्राइपोर्टका सरकारी प्रतिनिधि पुगेका थिए। तर, लामो समयदेखि मुआब्जाको विषयमा आश्वासन मात्र पाएको भन्दै स्थानीयले अब आफूहरूलाई कुराकानी नभई ‘परिणाम’ चाहिएको बताएका थिए।
स्थानीयले मुआब्जा वितरणको स्पष्ट निर्णय र कार्यान्वयनको सुनिश्चितता नभएसम्म छलफलका नाममा मात्र समय खर्च गर्न आफूहरू तयार नरहेको बताएका छन्।
धर्नामा सहभागी स्थानीयका अनुसार जग्गा अधिग्रहण गरिएको लामो समय बितिसक्दा पनि आफूहरूले पाउनुपर्ने मुआब्जा प्राप्त गर्न नसकेको अवस्था छ।
पटक–पटक सम्बन्धित निकायसँग छलफल तथा माग राख्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर धर्नामा बस्नुपरेको संघर्ष समितिका संयोजक अशोक चौधरीले बताए ।
मुआब्जा माग गर्दै गठित संघर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीका अनुसार विगत १२ वर्षदेखि मुआब्जा उपलब्ध गराउने आश्वासन दिइए पनि हालसम्म माग पूरा भएको छैन।
माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने उनले बताए। स्थानीयले धर्ना सुरु गरेपछि ड्राइपोर्टको मुख्य प्रवेशद्वारबाट हुने ट्रक, कन्टेनरलगायत मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ।
स्थानीयले मुआब्जाको विषय तत्काल टुंग्याउन सम्बन्धित सरकारी निकायसँग माग गरेका छन्। साथै, लिखित निर्णयसहित मुआब्जा उपलब्ध गराउने प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।
धर्नास्थलमा पुगेका प्रतिनिधिलाई स्थानीयले ‘कुरा होइन, रिजल्ट चाहियो’ भन्दै फर्काएपछि मुआब्जाको विषय थप चर्किएको छ।
तपाईको प्रतिक्रिया