कृष्ण मोहन साह
सेंढवा, १५ माघ । पर्साको ग्रामीण क्षेत्रमा फेरि गाजाको खेती शुरु भएको छ । प्रहरी प्रशासनले कडाइ र कार्वाही अभियान थालेपछि पर्सामा २०६७ साल देखि पूर्ण रुपमै बन्द भएको गाजा खेती अहिले भने फेरि शुरु भएको हो ।
पर्साको सोनवर्षा, शंकरसरैया, पटेर्वासुगौली, सुवर्णपुर, मधुवन मथवल, निर्मलवस्ती, निचुटा, प्रसौनीविर्ता, सखुवा प्रसौनी, गादी, बागेश्वरी तित्रौना लगायतका गाविसहरुमा किसानहरुले गाँजा रोपेको स्थानीयवासीले बताएका छन् ।
चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्य जन्तु आरक्षको जंगलसंग जोडिएका गाविसहरुमा बढि जसो गाजा खेती गरिएको छ । यस्तै वन अतिक्रमण गरिएको जग्गा र खोलाको बगरमा पनि कारोबारी र किसानहरुले गाजा रोपेका छन् ।
५/६ वर्ष देखि गाजाको खेती बन्द भएका कारण पर्सामा गाजाको बीउको अभाव भएपछि यहाका किसानहरुले मकवानपुरका पहाडी गाविसबाट बीउ ल्याएर रोपेका हुन् । कतिपय स्थानमा भने किसानहरुले गाजाका कारोबारीहरुको लगानीमा गाजाको खेती गरेको गाँउलेहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया