काठमाडौं । अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सडकमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २१ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका ११ स्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका २२ वर्षीय विक्की कुमार महतो रहेका छन्।
प्रहरी टोलीले प्रारम्भिक सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा अनलाइन सट्टेबाजी गर्ने गरेको पत्ता लागेको जनाएको छ।
प्रहरीका अनुसार हालसम्मको अनुसन्धानबाट ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको विवरण खुलेको छ।
अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन प्रहरीले उनलाई मोबाइल थान १ सहित नियन्त्रणमा लिएको जनाएको छ।
यस घटनामा थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्तारसूचना अधिकारी दानबहादुर थापाले जानकारी दिएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया