काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ ।
सभामुख ओनसरी घर्तीको सचिवालय सिंहदबारमा भएको छलफलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोगको प्रस्तावपछिको अवस्थाका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
भेटवार्तामा तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने तथा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमबाट प्रभावित नहुने र मुलुकको कार्यसूचीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।
व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव अगाडि बढेको सन्दर्भमा प्रधानमन्त्रीले सो प्रस्तावमा सहयोग गर्न पुनः प्रमुख प्रतिपक्षी दलका नेतालाई आग्रह गर्नुभएको थियो । बैठकपछि आफ्नो धारणा नेकपा (एमाले)को पार्टी कार्यालय धुम्रबाराहीमा नै सार्वजनिक गर्ने भन्दै ओली सभामुखको सचिवालयबाट बाहिरिनुभएको थियो ।
तपाईको प्रतिक्रिया