वीरगंज । पर्साका आठ नेतालाई नेकपा एमालेले प्रदेश कमिटीको सदस्यमा मनोनयन गरेको छ।
आइतवार बर्दिवासमा बसेको पार्टीको सचिवालय बैठकले पर्साका आठ नेतालाई प्रदेश कमिटीमा मनोनीत गरको हो ।
बैठकबाट पर्साबाट अमल यादव, राजेन्द्र यादव, बिक्की सिंह, लालबहादुर श्रेष्ठ, प्रदीप जैसवाल, पुरण कुर्मी, अफजल हुसैन र सन्तोष सिंहलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।

बैठकले मधेश प्रदेशमा हालसम्म भएका पार्टीका गतिविधिको समीक्षा गर्दै एमालेले आह्वान गरेको ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउन भदौ २१ गते बर्दिबासमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, भदौ १० गते तिब्बतमा हिमताल फुटेपछि आएको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा र चितवनमा भएको जनधनको क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको छ ।
बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार तथा प्रभावितका लागि राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
बाढीपीडितको राहतका लागि प्रदेश कमिटीको तर्फबाट पार्टी केन्द्रमार्फत केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले समसामयिक विषयमा विशेष प्रस्तावसमेत पारित गरेको छ ।
नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेश उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेललगायत सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया