वीरगञ्ज । नेकपा (एमाले) पर्साले वीरगञ्ज महानगरपालिका कमिटीको संयोजक पदमा सुन्दरप्रसाद कुर्मीलाई नियुक्त गरेको छ।
नेकपा (एमाले) पर्सा जिल्ला कमिटी सचिवालयको भदौ २ गते बसेको बैठकको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका कमिटीको रिक्त रहेको अध्यक्ष पदमा कुर्मीलाई अध्यक्षले गर्ने सबै काम गर्ने गरि संयोजक नियुक्त गरेको जनाएको छ।
एमाले पर्साले कुर्मीलाई पठाएको पत्रमा पार्टीको विधान तथा निर्णयअनुसार उनलाई महानगर कमिटीको संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ। पत्रमा पार्टी संगठनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिइएको छ।
पार्टीले महानगर कमिटीको संयोजकको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयन र कार्यकर्ताबीच समन्वयलाई प्रभावकारी बनाउन कुर्मीबाट योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।
कुर्मी नेकपा एमालेको पर्सा जिल्ला कमिटीको सचिवालय सदस्य थिए । कुर्मीलाई महानगर कमिटीको नेतृत्वको जिम्मेवारी दिएसँगै वीरगञ्जमा एमालेको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने बिश्वास लिएको पार्टीका पर्सा अध्यक्ष डा. बिश्वम्भर शर्माले बताए ।
यस अघि महानगरको अधिवेशनबाट निर्वाचित अध्यक्ष नवराज शर्मा पार्टीको बिशेष महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएपछि अध्यक्ष पद रिक्त भएको हो । संयोग आज संयोजक भएका कुर्मी र शर्मावीच अधिवेशनमा प्रतिस्पर्धा भएको थियो ।

तपाईको प्रतिक्रिया