वीरगञ्ज । वीरगंज पथलैया औधोगिक कोरिडोरमा रहेको हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौं श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको विषय प्रतिनिधिसभामा उठाइएको छ।
आफ्नो निर्वाचन क्षेत्रस्थित उद्योगका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै सांसदले दशैंको मुखमा उनीहरूको पारिश्रमिक तत्काल भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसदले सभामुखमार्फत सरकारलाई श्रमिकको समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय र सहजीकरण गर्न आग्रह गरेका छन्।
उनका अनुसार उद्योगका करिब १५० श्रमिकले नौ महिनादेखिको पारिश्रमिक नपाउँदा उनीहरू आर्थिक समस्यामा परेका छन्।
श्रमिकले पाउनुपर्ने पारिश्रमिक रकम अढाई करोड रुपैयाँभन्दा बढी रहेको दाबी गरिएको छ।
सदनमा बोल्दै सांसदले कुनै समय हजारौं श्रमिकलाई रोजगारी दिएको ज्योति समूहअन्तर्गतको उक्त व्यावसायिक प्रतिष्ठान अहिले आफ्ना श्रमिकको पारिश्रमिकसमेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुग्नुको कारणबारे सरकारले गम्भीर अध्ययन गर्नुपर्ने बताए।
उनले पछिल्ला सरकारका आर्थिक तथा बैंकिङ लगानीसम्बन्धी नीतिका कारण उद्योगहरू संकटमा परेको दाबी गर्दै यस्ता औद्योगिक संकटको गम्भीर समीक्षा गर्न सरकारसँग माग गरे।
संकटग्रस्त उद्योगलाई पुनः सञ्चालन तथा संरक्षण गर्न विशेष आर्थिक नीति ल्याउनुपर्नेमा जोड दिँदै उनले उद्योगलाई जोगाएर रोजगारी संरक्षण र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताए।
हिमाल आइरनका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको विषयमा उद्योग व्यवस्थापन तथा सम्बन्धित सरकारी निकायबाट भने थप आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
तपाईको प्रतिक्रिया