काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज डिसीले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन्।
‘चलचित्र पत्रकार , इतिहासदेखि वर्तमानसम्म २०८२ पुस्तक लोकार्पण तथा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ शीर्षक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पछिल्ला वर्षहरूमा मिडियाको संख्या अत्यधिक रूपमा बढेको बताए।
उनले भने, “अहिले मिडियाहरू धेरै भइसकेका छन्। पत्रकार साथीहरूको प्रश्न पनि अनेकथरि हुन्छन्। म सयवटा विषयमा दिनभर बोल्न सक्छु, तर विषय के हो भन्नेमा केन्द्रित भएर प्रश्न सोध्दा अझ प्रभावकारी हुन्छ।”
उनका अनुसार कार्यक्रमको उद्देश्य र विषयअनुसार प्रश्न सोध्नु पत्रकारिताको मर्यादाका लागि आवश्यक छ। उनले भने, “एउटा विवादित कुरा आयो भने सबै समाचारको हेडलाइन त्यही बन्छ। हामी एउटै क्षेत्रका हौं — कलाकारको विवादले फाइदा हुन्छ भने ठिक होला, तर यस्ता कुरा युट्युबका लागि हुन्, पत्रकारिताका लागि होइन।”
अध्यक्ष डिसीले अहिलेको पत्रकारितामा प्रतिस्पर्धा तीव्र रहेको उल्लेख गर्दै युवा पत्रकारहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए।
उनले थपे, “पहिला पहिला पत्रकारहरूलाई पहिचान दिन समस्या हुन्थ्यो — पत्रिकामा गए टेलिभिजनको भन्ने, टेलिभिजनमा गए सिनेमाको भन्ने, सिनेमामा गए रेडियोको भन्ने। तर अहिलेको पत्रकारले यी सबै सीमाहरू पार गर्दै आफ्नो ठाउँ बनाउनुपर्छ।”
उनले नेपाली चलचित्र पत्रकारिताको विकासका लागि व्यावसायिकता, जिम्मेवारी र आपसी सहकार्य अपरिहार्य रहेको पनि बताए।
तपाईको प्रतिक्रिया