वीरगंज, २ चैत :
पोखरीया नगरपालिकामा नेकपा एमालेको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरीले नेकपा एमाले र मधेशको सदियौ देखि नै सम्बन्ध रहेको र एमालेकै कारण मधेशबाट सामन्त र शोषकहरुको उन्मुक्ति भएको बताए ।
उनले मधेशका उत्पीडित, दलित, असहायक र महिलाको अधिकार सुनिश्चित गर्न एमाले अगाडी बढेको बताउँदै स्थानिय चुनाव सम्पन्न भएपछि सिंहदरवारको अधिकार गाउँगाउँमा पुग्ने भएकोले पनि केही शक्तिहरु चुनावको विरोध गर्दै हिँडेको आरोप लगाए ।
पोखरीया नगर संयोजक जोगानन्द चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं सांसद रामचन्द्र साह, एमालेका पर्सा सयोजक चिरञ्जीवी आचार्य, क्षेत्र नम्बर ५ का सांसद जयप्रकाश थारु, पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता, दलित उत्पीडित समाजका केन्द्रिय सचिव प्रभु हजरा, वीरगंज नगर संयोजक मनोज चौधरी, लोकतान्त्रिक मधेशी संगठन पर्साका अध्यक्ष सुन्दर कुर्मी, प्रभु पटेल, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सहजिकरण दिनेश चौहानले गरेका थिए ।
भेलामा पोखरीया नगरपालिकामा समावेश भएका ११ वटा वडाका एमालेका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया