वीरगन्ज– अगामी असार १४ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट अजय द्विवेदीले टिकट पाउने पक्का भएको छ । कांग्रेस निकट स्रोतका अनुसार पर्सा जिल्ला सभापति समेत रहेका द्विवेदीले केन्द्रबाट टिकट पाउने करिब पक्का भएको हो ।
मेयरका लागि कांग्रेसबाट झन्डै आधा दर्जन आकांक्षी देखिएका थिए । प्रत्येकले आफ्नो माहोल बनाउन शक्तिकेन्द्र धाइरहेका थिए । द्विवेदी खेमाकै रामरुप कुर्मी, ओमप्रकाश शर्मा, विजय सर्राफ, प्रकाश उपाध्याय समेत मेयरका आकांक्षी थिए । हरेक चुनावमा आफूलाई सघाउने चारैजना मेयरका आकांक्षी भएपछि द्विवेदीले औपचारिक रुपमा आफ्नो चाहना प्रकट गर्न सकेका थिएनन् ।
तर, केन्द्रबाटै मेयरको टिकट दिने पक्का भएपछि द्विवेदी अगाडि बढेको उनी निकटका एक नेताले बताए । पूर्व उपमेयर तथा सभासद समेत भइसकेका द्विवेदीले वीरगन्ज महानगरपालिकाको मेयरको टिकट पाउनेभएपछि चुनावमा कांग्रेसको पल्ला भारी हुने अड्कल काटिएको छ । पर्सा क्षेत्र नम्बर एक र दुईका केही गाविस गाभिएर बनेको महानगरमा द्विवेदी चर्चित छन् ।
संविधान सभाको दोस्रो निर्वाचनमा पार्टी भित्रकै एउटा खेमाको अन्तरघातका कारण द्विवेदी पराजित भएका थिए । अन्य दलका नेताले पनि कांग्रेसबाट द्विवेदीलाई नै निकटतम प्रतिद्वन्द्वी मान्दै आएका छन् । यसैवीच मेयरका विभिन्न आकांक्षीले टिकट नपाउने निश्चित भएपछि वडाको टिकटका लागि दौडधुप गरिरहेको स्रोतले दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया