प्रवीण ढकाल/सीताराम कोइराला
– बंगलादेशी प्रधानमन्त्री शेख हसिना, १८ मार्च २०१८
– विश्व स्वास्थ्य संगठनको सहकार्यमा सेन्टर फर मेडिकल एजुकेसन बंगलादेशले गरेको अध्ययन प्रतिवेदन, २०१७
बंगलादेशकै प्रधानमन्त्री हसिनाको भनाइ र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन प्रतिवेदनबाट नै प्रस्ट हुन्छ बंगलादेशको मेडिकल शिक्षाको वास्तविकता।
बंगलादेशका मेडिकल र डेन्टल कलेजमा अध्ययन गरेर फर्केका नेपाली डाक्टरी विद्यार्थीको गुणस्तर र सिपका विषयमा प्रश्न उठ्न थालेपछि स्वास्थ्य खबरपत्रिकाको टिमले जेठको पहिलो साता बंगलादेशका मेडिकल र डेन्टल कलेजको स्थलगत अध्ययन गरेको थियो।
स्थलगत अध्ययनका क्रममा ढाकास्थित बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिलले स्वास्थ्यखबर टोलीलाई प्रधानमन्त्री हसिनाले उठाएको प्रश्न र विश्व स्वास्थ्य संगठनको प्रतिवेदन उपलब्ध गराएको हो।
काउन्सिलले उपलब्ध गराएको विवरण अनुसार प्रधानमन्त्री हसिनाले मार्च १८ मा ढाकाको खामरबारी, फार्मगेटस्थित कृषिविद् इन्स्टिच्युटमा आयोजित क्रिटिकल केयर मेडिसिनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै निजी मेडिकल कलेजको गुणस्तरको विषयमा प्रश्न उठाएकी थिइन्। उनले बंगलादेशका निजी मेडिकल कलेजको गुणस्तर कमजोर रहेको भन्दै नियामक निकायलाई तत्कालै अनुगमन गर्नसमेत निर्देशन दिएकी थिइन्।
काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनियाले प्रधानमन्त्री हसिनाले प्रश्न उठाएझैं गुणस्तरहीन कलेजहरूमा दुई हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए। उनले नेपाली विद्यार्थीहरू धेरै भर्ना भएका केही कलेजहरूको नामावली उपलब्ध गराउँदै भने, ‘तपाईंहरू आफै यी कलेजमा गएर हेर्नुहोस्। विद्यार्थीसँग कुराकानी गर्नुहोस्। यहाँको पढाइको वास्तविकता थाहा पाउनुहुनेछ।’
रजिस्ट्रार बसुनियासँग भेट्नुअघि नै स्वास्थ्यखबरको टोलीले ढाका र सिल्हेटका मेडिकल र डेन्टल कलेजहरूको स्थलगत अध्ययन गरिसकेको थियो। सो क्रममा हामीले ११ वटा निजी मेडिकल र डेन्टल कलेजमा अध्ययनरत ५४ जना नेपाली विद्यार्थीलाई भेटिसकेका थियौं।
स्थलगत अध्ययन गरिएको मेडिकल कलेजमध्येकै एक थियो, ढाकाबाट २ सय ४० किलोमिटर टाढा रहेको सिल्हेटस्थित जलालाबादको रागिब रवैया मेडिकल कलेज।
चिया बगानको बीचमा रहेको उक्त मेडिकल कलेजमा हाल तीन सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्। तर, उक्त कलेज कालोसूचीमा परेको छ। भौतिक पूर्वाधारका आधारमा हेर्दा कलेज राम्रो नै देखिन्छ। तर, कलेजका विभिन्न विधाका प्राध्यापकको अभाव छ। नेपाली विद्यार्थीले दिएको जानकारी अनुसार उक्त कलेजमा फिजियोलोजी, बायोकेमेस्ट्री, एनाटोमी, माइक्रोबायोलोजी विषयका प्राध्यापक छैनन्।
उक्त कलेजमा नेपालबाट बंगलादेश एजुकेसनल कन्सलटेन्सी, क्रिस क्रस, निर्भाना, आधार एजुकेसन, ग्लोबल एजुकेसन कन्सलटेन्सीबाट सबैभन्दा विद्यार्थी अध्ययनका लागि पुगेका छन्। विद्यार्थीहरूले कन्सलटेन्सीले भनेका ५० प्रतिशत कुरा पनि पूरा नभएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरू सबैको साझा भनाइ छ, ‘एमबिबिएस अध्ययनका लागि नेपालबाट यो कलेज मात्र होइन, बंगलादेशन नै नआउनू।’
कालोसूचीमा परेका कारण नेपालको मेडिकल काउन्सिलले उक्त कलेजमा विद्यार्थी पढाउन रोक लगाएको छ। तर, उक्त कलेजका प्रिन्सिपल मोहमद अवेद हुसेनले अबको केही समयमा कलेजमा लगाइएको कालोसूची हट्ने दाबी गरे।
नेपालबाट नयाँ कन्सलटेन्सीको सञ्चालकको रूपमा परिचय दिँदै हामीले उनीसँग कुराकानी गरेका थियौं। सो क्रममा उनले भने, ‘नेपालबाट विद्यार्थी ल्याउने वातावरण मिलाउनुस्, तपाईंहरूलाई प्रतिविद्यार्थी दुई लाख कमिसन दिन्छौं।’
उनले गतवर्ष नेपालको मेडिकल काउन्सिललाई प्रतिविद्यार्थी तीन लाख रुपैयाँ दिन्छु भनेर फकाउँदा पनि विद्यार्थी पठाउन नमानेकाले काउन्सिलका पदाधिकारीको सेटिङ मिलाउन पनि आग्रह गरे।
बंगलादेशबाट नेपाल फर्किएलगत्तै यो विषयमा हामीले नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा दीलिप शर्मासँग जिज्ञासा राख्यौं। उनले भने, ‘९० जना विद्यार्थीको फाइल थियो। हामीले कालोसूचीमा परेको कलेजमा पठाउँदा विद्यार्थीको भविष्यमाथि प्रश्न उठ्छ भनेर रोकेर राखेका थियौं। त्यसपछि उक्त कलेजको प्रिन्सिपल आफैं यहाँ आएका थिए।’
डा शर्माका अनुसार उक्त कलेजले त्यहाँ अध्ययनरत तीन सयभन्दा बढी नेपाली विद्यार्थीले कलेज राम्रो छ भनेर हस्ताक्षर गरेको पत्रसमेत ल्याएका थिए।
कालोसूचीमा परेपछि पनि आफ्नो कलेजको पढाइ राम्रो रहेको भन्दै हस्ताक्षर गराएको एमबिबिएस पाचौं वर्षमा अध्ययनरत एक विद्यार्थीले स्वास्थ्यखबरलाई जानकारी दिए। ‘हस्ताक्षर नगरे फेल गराउँछन् भन्ने डरले हामीले हस्ताक्षर गरेका थियौं,’ नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले भने, ‘हामी त यहाँ आएर फसिसकेका छौं।
तर, अरू नेपाली विद्यार्थी अध्ययनका लागि बंगलादेशमा नआउँदा नै हुन्छ।’ उनले आफूलाई बागबजारमा रहेको बंगलादेश एजुकेसन कन्सलटेन्सीले फसाएको बताए।
बंगलादेशमा डाक्टरी शिक्षा पढ्न आएर जीवन बर्बाद भइरहेको गुनासो गर्नेमध्येका अर्का विद्यार्थी हुन् सागर पुन (नाम परिवर्तन)। उनी सिराजगन्जस्थित नर्थ बेङ्गाल मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत छन्।
बागबजारस्थित जिपिसी नेपाल नामक कन्सलटेन्सीले आफूलाई फसाएको उनले बताए। भन्छन्, ‘उत्कृष्ट कलेज हो, होस्टलको पनि राम्रो सुविधा छ, अंग्रेजीमा पढाइ हुन्छ भनेर भनेको थियो। तर, यहाँ त टहरामुनिको होस्टल अनि पढाइ पनि खत्तम छ।’ उनका अनुसार उनको कलेजमा एक सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।
ढाकामा रहेको नेपाली राजदूतावासमा भेटिएका उनले आफ्नो मात्र नभई बंगलादेशका अन्य निजी मेडिकल कलेजको हालत उस्तै दुःखलाग्दो रहेको गुनासो गरे।
बंगलादेशबाट फर्किएपछि हामी विद्यार्थीको अभिभावक बनेर जिपिएस कन्सलटेन्सीमा पुगेका थियौं। त्यस क्रममा जिपिएसका कार्यकारी निर्देशक कुवेर आनन्दले नर्थ बेङ्गाल मेडिकल कलेज बंगलादेशकै उत्कृष्ट कलेज रहेको, सैद्धान्तिकभन्दा व्यावहारिक पढाइ धेरै हुने, भव्य र आलिसान भौतिक पूर्वाधार रहेको, विश्वमै नाम चलेका उत्कृष्ट प्रोफेसरहरूले पढाउने भन्दै अनावश्यक बढाइचढाइ गर्दै झुटा विवरण सुनाए।
उनले नेपाली विद्यार्थीमाझ अझ लोकप्रिय रहेको इस्टर्न मेडिकल कलेजमा पढ्न पनि सुझाव दिएका थिए। विद्यार्थीहरू भने ढाका–चित्तगोंग राजमार्गमा पर्ने कबिलामा रहेको उक्त कलेज पनि गुणस्तरहीन रहेको बताउँछन्।
एक वर्षअघि सार्वजनिक भएको विश्व स्वास्थ्य संगठनको सहकार्यमा सेन्टर फर मेडिकल एजुकेसन बंगलादेशले गरेको अध्ययनले पनि उक्त कलेजको पठनपाठमा प्रश्न उठाएको छ। प्रतिवेदनले उक्त कलेजमा बंगलादेशको राष्ट्रिय गुणस्तर मापदण्ड पूरा नभएको उल्लेख छ।
प्रतिवेदनले सिल्हेटमा रहेको नर्थ इस्ट मेडिकल कलेजमा पनि गुणस्तरीय शिक्षाका लागि मापदण्ड नपुगेको औंल्याएको छ। उक्त कलेजमा एक सय हाराहारी नेपाली विद्यार्थी अध्ययनरत छन्। सोही कलेजमा एमबिबिएस पाँचौ वर्षमा अध्ययनरत सुमन हमाल (नाम परिर्वन) भन्छन्, ‘न पढाइ राम्रो छ न त बिरामी नै छुन दिन्छन्। यस्तो अवस्थामा हामी कसरी राम्रो डाक्टर बन्न सक्छौं ?’ उनले अहिलेसम्म घोकेर मात्र पास भएको र नेपाल फर्केपछि कुनै मेडिकल कलेजको अस्पतालमा गएर काम सिक्ने योजना रहेको पनि सुनाए।
बंगलादेशमा नै भएको अध्ययन प्रतिवेदन र विद्यार्थीहरूले उक्त कलेजको गुणस्तर राम्रो छैन भने पनि थापाथलीस्थित वाइड रेन्ज कन्सलटेन्सी भने उक्त कलेज बंगलादेशको उत्कृष्ट १० भित्र पर्ने दाबी गरिरहेको छ।
असारको अन्तिम साता कन्सलटेन्सीमा पुग्दा म्यानेजिङ डाइरेक्टर सुदीपकुमार नायक कलेजको बयान गरिरहेका थिए। उनले कलेजको भवन र प्रोफेसरहरूको फोटो देखाउँदै भने, ‘यहाँ अंग्रेजी भाषामा उच्चस्तरको पढाइ हुन्छ। होस्टलको सुविधा आकर्षक छ अनि पढाइ पनि नेपालभन्दा सस्तो।’ उनले कलेजको सिट भरिन लागेको भन्दै सिट बुक गराउन पनि आग्रह गरे। यहाँसम्म कि सुरुमै सिट बुक गराएमा दुई लाख रुपैयाँ छुट दिनेसम्म आश्वासन दिए।
स्वास्थ्यखबरसँगको कुराकानीका क्रममा बंगलादेशमा अध्ययनरत अधिकांश विद्यार्थीहरूले नेपाली कन्सलटेन्सीकै झुटका कारण आफूहरू गुणस्तरहीन कलेजको दलदलमा फसेको बताएका छन्।
उनीहरूमध्ये अधिकांशलाई कन्सलटेन्सीले सुरुमा बंगलादेशको सरकारी र सेनाको मेडिकल कलेजमा छात्रवृत्ति मिलाउने, राम्रा निजी मेडिकल कलेजमा छुटको अवसर दिलाउने भन्दै सुरुमै दुईदेखि चार लाख रुपैयाँसम्म असुलेका थिए। त्यसपछि नेपाल तथा बंगलादेशकै राम्रा कलेजको सिट भरिएपछि कमसल कलेजमा लगेर भर्ना गराएको उनीहरूको गुनासो छ।
विद्यार्थी झुक्याउनेमा सबैभन्दा बढी ग्लोबल, बंगलादेश, जिपिएस, भाइब्रेन्ट, क्रिसकस, वाइड रेन्ज, स्टुडेन्ट हेल्पलाइन, मिसन डाक्टर, ज्योति दीप, निर्भाना र आधार कन्सलटेन्सी रहेका छन्। यी कन्सलटेन्सीले झुक्याएर बंगलादेश पुगेका सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत कलेजहरू त कालोसूचीमा नै परेका छन्।
बंगलादेशको शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, मेडिकल तथा डेन्टल काउन्सिलले निलम्बन, अवैधानिक र दर्ता बन्द गर्दै ३७ कलेजलाई कालोसूचीमा राखेको हो। तर, कन्सलटेन्सीहरूले ती कलेजमा ‘राजनीतिक दबाबका कारण केही समय बन्द गरिएकाले फेरि खुल्छ’ भन्दै विद्यार्थी झुक्याउन सुरु गरिसकेका छन्।
बंगलादेशकै मेडिकल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनियाका अनुसार नेपाली विद्यार्थी अध्ययन गर्ने कतिपय मेडिकल कलेज त दर्तासमेत छैनन्।
कन्सलटेन्सीले झुटका कारण दक्ष डाक्टर बन्ने सुन्दर सपना बोकेर बंगलादेश पुगेका विद्यार्थीहरू गुणस्तरहीन कलेजमा रातभरि नसुती स्वअध्ययन गरिरहेका छन्। उनीहरूका अनुसार होस्टलसमेत फोहोर र साँघुरा छन्। होस्टलको दुर्गतिलाई नेपाली विद्यार्थीले ‘धर्मशाला’ भनेर उपनाम नै दिएका छन्।
यसका साथै बंगलादेशमा असुरक्षा, भिसाको समस्या, महँगो पढाइ, काउन्सिलको कोटाभन्दा बढी विद्यार्थी भर्ना गराएर विद्यार्थीलाई फेल गराउने, प्रोफेसरले नराम्रो व्यवहार गर्ने, प्रहरीले समेत नेपाली विद्यार्थीलाई दुःख दिने, मुस्लिम समुदायमा नेपाली विद्यार्थी घुलमिल हुन गाह्रो हुने लगायतका समस्या झेल्नुपरिरहेको नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलदेशका अध्यक्ष नवीन यादव बताउँछन्।
उनका अनुसार यी सबै समस्यालाई नेपाली कन्सलटेन्सीले सुरुमा लुकाउँदै विद्यार्थीलाई ढाँट्ने गरेका छन्। नेपालका कन्सलटेन्सीहरूले नेपाली विद्यार्थीहरूलाई बंगलादेशका भव्य आलिसान, अस्पताल भवन, विख्यात प्रोफेसरको फोटो, अत्याधुनिक अस्पताल उपकरणहरू देखाउने र अंग्रेजी भाषामा उच्चस्तरको पढाइ हुन्छ भन्दै झुक्याउने गरेका छन्। यसका साथै टुरिस्ट भिसामा लगेर अलपत्र बनाउनेसमेत गरेका छन्।
बंगलादेशमा अध्ययन गरिरहेका विद्यार्थीको अर्को साझा समस्या भनेको अध्ययनका समयमा बिरामीलाई हेर्न नपाउनु पनि हो। बंगलादेशका प्राध्यापकले नेपाली विद्यार्थीलाई विश्वास नगर्नु र बिरामीले पनि विदेशीलाई नपत्याउनु हो।
‘बिरामी नै छुन नपाएपछि कसरी राम्रो डाक्टर बन्न सकिएला र ?’ बंगलादेशको ढाकास्थित केयर मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘न प्रोफेसरले विश्वस गर्छन् न त बिरामीले नै।’ उनले आफूभन्दा अघि उक्त कलेजमा पढेकाहरूले नेपालको मेडिकल कलेजका शिक्षण अस्पतालमा गएर बिरामी हेर्न सिकिरहेको बताए।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कै तथ्यांक अनुसार ३५ वटा कन्सलटेन्सीले नेपाली विद्यार्थीलाई बंगलादेशमा पठाउँदै आइरहेका छन्। कन्सलटेन्सीले बंगलादेशका कलेजमा अंग्रेजी प्रोफेसरले पढाउँछन् भने पनि ८० प्रतिशतभन्दा बढी पढाइ बंगाली भाषामा नै हुने गरेको पाइयो। बंगलादेशका केही प्रोफेसरले कनिकुथी अंग्रेजीमा पढाउने गरे पनि पढाउँदा पढाउँदै अंग्रेजी नजानेर बंगाली भाषामै विषयगत कुराहरूको व्याख्या गर्ने गरेको भेटिएको छ।
बंगलादेशको मेडिकल एन्ड डेन्टल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनियाले बंगलादेशका निजी मेडिकल कलेजहरू ८० देखि ८५ प्रतिशत गुणस्तरहीन रहेको जानकारी दिए। उनले पैसा कमाउने उद्देश्यले खोलिएका यस्ता कलेजमा पढ्न आउनु बेकार रहेको समेत बताएका छन्।
‘हाम्रा मेडिकल कलेजहरू गुणस्तरहीन छन् भन्ने जान्दाजान्दै पनि नेपालबाट पढ्न आउनु मुर्खता हो,’ उनले भने।
उनका अनुसार बंगलादेशमा १५ देखि २० वटा मात्र मेडिकल कलेज राम्रा छन्। बंगलादेशका गुणस्तरीय कलेजको सुचीमा रहेका ती कलेजमा नेपाली विद्यार्थीको संख्या बढीमा दुई सय जति छ। बाँकी सबै गुणस्तरहीन कलेजमा अध्ययन गरिरहेका छन्।
नेपालका कन्सलटेन्सीहरूले इमानदारीपूर्वक काम नगरेकै कारण यति धेरै समस्या आइरहेको स्विकार गर्छन्, आधार एजुकेसन कन्सलटेन्सीका सञ्चालक डा नरेन्द्र मिश्र। भन्छन्, ‘कन्सलटेन्सीहरूले इमानदार भएर काम गर्ने र विद्यार्थीहरू पनि चनाखो हुने हो भने यस्ता समस्या आउँदैनथ्यो।’
- (बंगलादेशबाट फर्केर तयार पारिएको रिपोर्ट)सभारः स्वास्थ्यखवर डटकम
तपाईको प्रतिक्रिया