काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीनविरुद्ध कुनै पनि गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाल एक चीन नीतिमा अडिग रहेको बताएका हुन् । उनले भने, ‘नेपालको भूमि चीनको खिलाफ प्रयोग हुन दिइने छैन।’
कार्यक्रममा सभापति देउवाले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, संस्कृति, जलवायु परिवर्तन र वातावरणीय संरक्षणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।
‘म विश्वास गर्छु, चीनले आगामी दिनमा पनि नेपालको विकासमा थप सहयोग गर्नेछ,’ उनले भने, ‘आजको यो फोटो प्रदर्शनीले चीनसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ।’
देउवाले नेपाल–चीन सम्बन्ध समानता, पारस्परिक हित र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताए । साथै, दुई देशबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई अझ सुदृढ बनाउने र जनस्तरसम्मको सहकार्यलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।
‘नेपालले स्पष्ट रूपमा चीनसँगको मित्रता र चाइना पोलिसीलाई कायम राखेको छ,’ देउवाले भने, ‘म मित्रराष्ट्र चीनविरुद्ध नेपालको भूमि प्रयोग नहुने विश्वास दिलाउन चाहन्छु।
’ उनले नेपाल–चीन सम्बन्ध परापूर्वकालदेखि नै अटल, अमर र आपसी विश्वासमा आधारित रहेको पनि स्मरण गरे ।
तपाईको प्रतिक्रिया