वीरगञ्ज, । नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीको दोस्रो पूर्ण बैठक शनिबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ।
बैठकले पार्टी संगठनलाई सुदृढ गर्दै आगामी स्थानीय र राष्ट्रिय राजनीतिक परिदृश्यमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न दीर्घकालीन योजना तथा कार्यदिशा तय गरेको छ।
कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकले नगरभित्र रहेका ३२ वटै वडामा कमिटी विस्तार र पुनर्गठनका लागि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यसका लागि वडा–वडा पुगेर संगठनात्मक गृहकार्य अगाडि बढाइने र साउन–भदौभित्र सबै वडाको वडा अधिवेशन सम्पन्न गरिने रणनीति तय गरिएको छ।
पार्टीको सांगठनिक कामलाई चुस्त बनाउन नगर क्षेत्रलाई ८ वटा इलाकामा विभाजन गरी इलाका संयोजकहरू नियुक्त गरिने निर्णय गरिएको छ। साथै, युवा, महिला, मजदुर, पेशागत, आदिवासीरजनजाति, मुस्लिम लगायत जनवर्गीय संगठनहरूको नगर कमिटी गठन र पुनर्गठन गरिने भएको छ।
बैठकले संगठनको आर्थिक सुदृढीकरणका लागि महिनावारी लेभी प्रणाली लागू गर्ने निर्णय लिएको छ। महानगर कमिटी अध्यक्ष शर्मा सहित पदाधिकारी तथा सदस्यहरूले स्वेच्छिक योगदान गर्दै आर्थिक पारदर्शितामा दृढ संकल्प व्यक्त गरेका छन्।
बैठकमा पार्टीका महानगर इन्चार्ज बिचारी यादवले संगठन विस्तार नै प्राथमिकता भएको बताए । उनले पार्टीलाई जनताको दुःख सुखमा जोड्न सक्ने गरि कमिटीलाई क्रियाशिल बनाउन अपिल गरे ।
पूर्व मेयर तथा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य विजय सरावगीले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका बिषयमा एमालेले अगुवाई गर्नु पर्ने बताए ।
प्रदेशसभा सदस्य बिना शर्मा, पूर्व नगर अध्यक्ष राजेन्द्र यादव, नेतृ रञ्जु फुयाल लगायत नेताहरूले संगठन सुदृढीकरणमा जोड दिएका थिए।
पार्टीका युवा नेता जलन्धर पटेल र राकेश साहले कार्यसम्पादनमा नवप्रवर्तन, युवापुस्ताको सहभागिता र संगठनको डिजिटल सशक्तीकरणका विषयमा सुझावसहित धारणा राखेका थिए।
३२ वटै वडाका कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको बैठकको सहजीकरण नगर सचिव लियाकत अलीले गरेका थिए।
तपाईको प्रतिक्रिया