लहान । प्रहरीले एक घरमा छापमारी गरि ठूलो परिमाणमा लागूऔषध (गाँजा) बरामद गरेको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक घरबाट ठूलो परिमाणमा लागूऔषध (गाँजा) बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ६० वर्षीय मेदी यादवको घरमा गोप्य सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले शुक्रबार बिहान ६ बजे छापा मारेको थियो।
विशेष सूचनाको आधारमा यादवको घरमा खानतलासी गर्दा सो परिमाणको गाँजा बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए ।
उनका अनुसार घरधनी यादव फरार छन् । यादव नै गाँजा तस्कर रहेको अनुमान प्रहरीको छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रहरी चौकी सिलौर्वापछवारी, सशस्त्र प्रहरी वेश क्याम्प सुखीपुर, र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले छापा हानेको हो ।
यादवको घरबाट ७१७.६ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार गाँजा घरभित्र लुकाईछिपाई राखिएको अवस्थामा फेला परेको हो।
घटनास्थलबाट को.१३प २१५२ नम्बरको होण्डा कम्पनीको मोटरसाइकल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार यो सिरहा जिल्लामा पछिल्लो समय बरामद भएको लागूऔषधमध्ये ठूलो परिमाण हो। प्रहरीका अनुसार लागूऔषध विरुद्ध निगरानी तथा कडाइ तीव्र बनाइएको छ।
तपाईको प्रतिक्रिया