वीरगंज । आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट भौतिक संरचना पूर्णरूपमा नष्ट भएको वीरगंज महानगरपालिकालाई सूर्या नेपाल प्रा.लि.ले विद्युतीय उपकरण सहयोग गरेको छ।
गत भदौ २४ गतेको घटनामा महानगरको भवनसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि कार्यालय सञ्चालनमा गम्भीर कठिनाइ सिर्जना भएको थियो।
यस्तै परिस्थितिमा सूर्या नेपालले दुई थान कम्प्युटर सेट (युपिएससहित) दुई थान ल्यापटप र दुई थान प्रिन्टर हस्तान्तरण गरेको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा वीरगंज महानगर प्रमुख राजेशमान सिंहले संकटको घडीमा गरिएको सहयोगले कार्यालयलाई पुनःसञ्चालन गर्न ठूलो राहत पुगेको बताए।
उनले महानगरपालिकाको दैनिक कामकाज सहज बनाउन सूर्या नेपालले पुर्याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। उनले भविष्यमा पनि महानगर र सूर्या नेपालबीच सहकार्य र साझेदारी निरन्तर रहने बिश्वास ब्यक्त गरे ।
संकटका समयमा सहयोग प्राप्त हुनु केवल भौतिक सामग्रीको आपूर्ति मात्र नभई मनोबल वृद्धि पनि हो। यसरी गरिएका सहयोगले संस्थागत गतिविधि पुनःसञ्चालनमा गतिशीलता ल्याउने मात्र होइन, समुदाय र निजी क्षेत्रबीचको सम्बन्ध अझ घनिष्ठ बनाउन मद्दत पुर्याउने स्थानीय सरोकारवालाहरूको विश्वास छ।
सो अवसरमा सूर्या नेपाल प्रा.लि.का प्रभाकर विक्रम शाहले समस्याको घडीमा सहयोग गर्न आफूहरु जहिल्यै तत्पर रहने बताए ।
उनले नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो। सबै मिलेर सहयोग गरे महानगर चाँडै उठ्ने बताए ।
यस्तै, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंज महानगरलाई सहयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका सिनियर म्यानेजर यज्ञ आलेसहितका व्यक्तिहरूको उपस्थिति थियो।
तपाईको प्रतिक्रिया