काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले हालै घोषित ११ दलको एकतालाई केवल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका सिद्धान्तविरुद्धको राजनीतिक अभियानका रूपमा चित्रण गरेका छन्।
प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको संवाद कार्यक्रममा बोल्दै थापाले भने, “यी ११ दल मिसिनुको कुनै राजनीतिक अर्थ छैन, यसको उद्देश्य केवल केपी ओलीको निन्दा गर्नु र उहाँका सिद्धान्तविरुद्ध बोल्नु मात्रै हो।”
थापाका अनुसार समाजवादी र माओवादीबाहेक अन्य नौ दलको जनस्तरमा कुनै पहिचान नै छैन। उनले भने, “११ वटा पार्टीको एकता भन्ने सुनेको छु, तर त्यसमा समाजवादी र माओवादीबाहेक अरु नौ पार्टी शून्य हुन्। देशभरका जनताले चिनेका पनि छैनन्। त्यसैले ‘हामी मिसियौं’ भन्नु मात्र प्रचार हो, राजनीति होइन।”
उनले २०७७ सालदेखि नै यस्ता एकता प्रयासहरू ओलीविरुद्धकै अभियानका रूपमा दोहोरिँदै आएको बताए। “त्यो बेला पनि ओलीको विरोधमै यस्तो खेल भयो, आज पनि त्यही दोहोरिएको हो,” थापाको भनाइ थियो।
थापाले पछिल्लो समय “पेन्सन पकाउने सेलिब्रेटी”हरूले पनि पार्टी खोल्ने लहर चलेको भन्दै व्यङ्ग्य गरे। उनले भने, “अहिले पार्टी खोल्न सजिलो भएको छ। तर, कांग्रेस र एमालेजस्ता शताब्दी पार्टी बन्न सजिलो छैन। अहिले दर्ता भएका धेरै नयाँ पार्टी कालिपोके बन्ने खतरा छन्।”
एमाले केन्द्रीय कमिटीमा २३ गतेको घटनाबारे छलफल हुँदा करिब ३२८ सदस्यले ओलीले घटनाको नैतीक जिम्मेवाी लिनु पर्छ भनेर बोलेको चर्चाबारे पनि उनले प्रष्ट पारे। “त्यो बैठकमा ३ सय २८ जनाले बोलेका थिए, तर पद छोड्नुपर्छ भन्ने मत केवल १६ जनाले राखेका थिए। सचिवालयमा पनि ५ जनाले मात्रै सो मत दिएका थिए। बाँकी सबै ओलीकै पक्षमा उभिएका थिए,” उनले स्पष्ट पारे।
तपाईको प्रतिक्रिया