जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभरका नागरिकसँग प्रत्यक्ष संवाद स्थापना गर्ने उद्देश्यले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरेका छन्।
हिजोबाट प्रारम्भ भएको यो पहल सोमबार दोस्रो दिन पनि निरन्तर जारी रह्यो, जहाँ प्रदेश विभिन्न स्थानबाट आएका नागरिकका गुनासा, सुझाव र समस्याहरू सुनेर तत्काल समाधानका प्रक्रियाहरू अघि बढाइएका हुन्।
कार्यक्रमको पहिलो दिनमै स्थानीय बासिन्दाले लोकसेवा आयोगका विज्ञापन सम्बन्धी सूचना, युवाको रोजगारी अभाव, नापी तथा मालपोत कार्यालयमा देखिएको भ्रष्टाचार, शिक्षाको कमजोर अवस्था, सडक मर्मतका चुनौती लगायतका मुद्दाहरू मुख्यमन्त्रीसमक्ष राखेका थिए।
मुख्यमन्त्री यादवले उठेका प्रत्येक गुनासाको छिटोछरितो समाधान होस् भन्ने उद्देश्यले सम्बन्धित निकायहरूलाई फोनमार्फत आवश्यक निर्देशन दिँदै आएका छन्।
उनले जनताको समस्या तत्काल सम्बोधन गर्न राज्य संयन्त्रले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम दैनिक ४५ मिनेट सञ्चालन हुन्छ। यसले नागरिक–सरकारबीच प्रत्यक्ष संवाद बढाउँदै विश्वास निर्माणमा महत्वपूर्ण योगदान दिएको जनाइएको छ।
मुख्यमन्त्रीका अनुसार, नागरिकहरूले दैनिक रुपमा फोनमार्फत आफ्नो समस्याबारे प्रत्यक्ष रूपमा जानकारी गराउन सक्नेछन्। यस्तो पहलले मधेस प्रदेशमा सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र कार्यक्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया