कलैया। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले समाज परिवर्तनका लागि खोजमूलक पत्रकारिताको आवश्यकता अझ बढ्दै गएको बताएका छन्।
बाराको कलैयामा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आज आयोजित ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक गोष्ठीमा बोल्दै पूर्वमुख्यमन्त्री सोनलले खोज पत्रकारिताले समाजलाई प्रत्यक्ष फाइदा पुर्याउने उल्लेख गर्दै त्यस्तो पत्रकारिता गर्ने सञ्चारकर्मीलाई आफ्नो पूर्ण समर्थन रहने बताए।
उनले हाल मधेस प्रदेशमा खोज पत्रकारितासँगै बिट पत्रकारिताको पनि उत्तिकै आवश्यकता रहेको बताउँदै खोज तथा बिट पत्रकारिता गर्ने पत्रकारलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए।
“व्यवसायिक पत्रकारिता गर्ने पत्रकारको सुरक्षादेखि पेशागत ग्यारेन्टीसम्मको जिम्मेवारी राज्यले लिनुपर्छ,” सोनलले भने।
फरक प्रसंगमा उनले आगामी २१ फागुनमा तोकिएको निर्वाचन समयमै सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे। “चुनाव निर्धारित समयमा सम्पन्न भए देश सही ट्र्याकमा अघि बढ्नेछ,” उनले बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक के.सी .लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव, सदस्यहरू रिन्कु मिश्रा, मन्नु पासवान, वन्दना झालगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल र बाराका सचिव पुष्पराज खतिवडाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया